

मदन भण्डारी
जननेता
मदन भण्डारी बारे

जननेता मदन भण्डारी: संक्षिप्त परिचय
कमरेड मदन भण्डारीको जन्म २००९ साल असार १४ गते पूर्वी पहाडको ताप्लेजुंगमा एउटा मध्यम वर्गीय परिवारमा भएको थियो । २०२४ सालबाट कम्युनिस्ट कार्यकर्ताको रूपमा आफ्नो गतिविधि शुरू गरेका तीक्ष्ण बौद्धिकता र आकर्षक व्यक्तित्वका धनी कमरेड मदन भण्डारी धाराप्रवाह बोल्न सक्ने एवं प्रभावशाली वक्ता, उच्च विश्लेषण क्षमता भएका गतिशील एवं सिर्जनशील नेताहरू मध्ये विरलै पाइने एक शिखर व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको त्यही क्षमताले नै उहाँलाई असल नेता बनायो र जनताको अगाध आस्था उहाँप्रति समर्पित भयो । २०३५ सालमा नेकपा (माले) को संस्थापक केन्द्रीय सदस्यको रूपमा नेतृत्व पंक्तिमा सामेल हुनुभएका कमरेड मदन भण्डारी, २०३७ देखि २०४१ मा पार्टी भित्रको वैचारिक बहसमा सबैभन्दा खरो सावित हुन पुग्नुभयो । उहाँले आम तथा ठोस कार्यक्रम, प्रधान अन्तरविरोध, रणनीति र कार्यनीति जस्ता कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित विवादको चित्त बुझ्दो व्याख्या गर्नुभयो । उहाँ २०४१ सालमा पार्टीको पोलिटब्युरो सदस्य हुनुभयो । २०४६ सालमा नेकपा (माले) द्वारा आयोजित नेकपाको चौथो राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको महासचिव चुनिनु भयो । कमरेड मदन भण्डारी २०४६ सालको जन आन्दोलनका एक प्रमुख योजनाकार हुनुहुन्थ्यो । जन आन्दोलनको सफलता पछि अन्तरिम सरकारको संचालन तथा नयाँ संविधान निर्माणमा उहाँको नेतृत्वदायी भूमिका प्रभावशाली रह्यो । कमरेड मदन भण्डारी २०४७ साल कार्तिक २३ गते नयाँ संविधानको घोषणा भएपछि मात्र पार्टी महासचिवको रूपमा सार्वजनिक जीवनमा प्रकट हुनुभयो ।
२०४७ पुस (२२/२३) मा नेकपा (माले) र (मार्क्सवादी) बीचएकीकरण भएपछि पनि उहाँले महासचिवको रूपमा पार्टीको नेतृत्व सम्हाल्नु भयो । जननेता मदन भण्डारी - नेपाली जनक्रान्तिको ऐतिहासिक व्यक्तित्व, विचारक, प्रखर वक्ता र समयको आवाज बुझ्ने निर्भिक नेता हुनुहुन्थ्यो । विश्व कम्युनिस्ट आन्दोलनले व्यहोरेको गम्भीर धक्काले आएको उथल-पुथल बीच कमरेड मदन भण्डारीले नेपाली आवश्यकता अनुरूप कम्युनिस्ट आन्दोलनमा देखा परेको दायाँ वा बायाँ दुवैतिरको अतिवादलाई चिर्दै ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्त प्रतिपादन गर्नुभयो, जसलाई नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनले नेपाली क्रान्तिको मौलिक कार्यक्रमको रूपमा अत्यधिक मतले पारित गर्यो । समाजवादतर्फको नेपाली लोकतान्त्रिक बाटोको रूपमा प्रसिद्ध जनताको बहुदलीय जनवादको प्रणेता कमरेड मदन भण्डारीको २०५० साल जेठ ३ गते प्रतिक्रियावादीहरूले षडयन्त्रमूलक ढंगले जिप दुर्घटना मार्फत दासढुंगामा हत्या भयो । पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको मौलिक कार्यक्रमको रुपमा पारित जबज छोटो समयमा नै पार्टी पंक्तिभित्र सर्वस्वीकार्य र लोकप्रिय बन्यो । जननेता मदन भण्डारीको हत्यापछि आयोजित पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनले जबजलाई नेतृत्वदायी विचारका रुपमा र आठौं महाधिवेशनले मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गर्यो ।
भिडियो
सबै हेर्नुहोस्

मदन भण्डारीको अन्तिम भाषण कास्की २०५०जेठ३

