आज २०८० साल पौष २३ गते शनिवार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संगठनले संगठनको केन्द्रीय कार्यालयको सभाहलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेर मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा रक्षा मन्त्री कमरेड ईश्वर पोखरेल उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथि रुपमा पार्टीका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक कमरेड भानुभक्त ढकाल हुनुहुन्थ्यो । अतिथिहरुमा पार्टी पोलिटव्युरो सदस्य एवं संगठनका निवर्तमान इन्चार्ज आनन्द पोखरेल तथा पार्टी केन्द्रीय सदस्य एवं संगठनका इन्चार्ज कमरेड यज्ञराज सुनुवार हुनुहुन्थ्यो ।
कार्यक्रममा अध्यक्ष कमरेड विनोद पाण्डे, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, सचिवहरु, कोषाध्यक्ष, केन्द्रीय सदस्यहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरु, विभिन्न जिल्लाका पदाधिकारी तथा सदस्यहरु तथा स्थानीय पालिका कमिटीका कमरेडहरु उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका पार्टीका बरिष्ठ उपाध्यक्ष कमरेड इश्वर पोखरेलले यस संगठन टु इन वान को रोलबाट अघि बढ्नु पर्ने बताउनु भयो । टु इन वान भन्नाले एकातिर संगठनको हकहित र अधिकारको लागि काम गर्नु पर्ने र अर्को तिर पार्टीले बोकेको नीति र सिद्धान्त अनुरुप पार्टीको योजना तथा निर्देशन अनुसार कार्य गर्नु पर्ने बताउनु भयो । संवोधनका क्रममा उपाध्यक्ष पोखरेलले संगठनलाई अहिले पार्टीले औपचारिक रुपमा मात्र हैन पार्टीको बलियो खम्बाको रुपमा तथा अनुशासित संगठनको रुपमा हेरको बताउनु भयो । त्यसै गरी जाजरकोट भुकम्पमा सक्रिय सहभागीता जनाई संगठनको उचाईलाई बढाउनुका साथै पार्टीले आयोजना गरेको झुलाघाट-चिवाभञ्ज्या संमृद्धिको लागि संकल्प यात्रामा संगठनले पार्टीले दिएको जिम्मेवारीलाई सफलताका साथ सम्पन्न गरेको हुँदा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्नु भयो ।
पोखरेलले मिसन ८४ को लागि वडा तहसम्मका कमिटीहरु निर्माण गर्दै संगठित, प्रशिक्षित र डेडिकेटेड नेता तथा कार्यकर्ता तयार गर्दै मिसन ८४ लाई सफल पार्न योजना सहित लाग्न निर्देशन दिनु भयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य कमरेड भानुभक्त ढकाल, संगठन इन्चार्ज कमरेड यज्ञराज सुनुवारले शुभकामना मन्तव्य दिनु भएको थियो । संगठनका उपमहासचिव कमरेड मदन केसीले संचालन गरेको उक्त कार्यक्रमको अधक्ष्यता संगठनका अध्यक्ष कमरेड विनोद पाण्डेले गर्नु भएको थियो ।
कार्यक्रममा ३३ वटा दियो प्रज्वलन गरिएको थियो । त्यसै गरि आजको दिवसलाई संगठनका प्रदेश कमिटीहरु र जिल्ला कमिटीहरुले पनि विभिन्न रचनात्मक कार्यक्रम गरी देश भर मनाएका छन् ।
