पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिँदै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले आइतबार पनि विरोध प्रदर्शन गरेको छ ।
कालो बेलुन सिंहदरबार छेउमा उडाएर राष्ट्रिय युवा संघ नेपालले सरकारलाई पेट्रेलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न र स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएको हो ।
संविधान विपरित स्थानीय तहलाई रिक्त बनाउने नियतका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति समेत घोषणा नगरेपछि त्यसको विरोधस्वरूप आज कालो बेलुन सिंहदरबारभित्र पुग्ने गरी उडाउने काम गर्नुपरेको संघका निवर्तमान महासचिव रमेश आचार्यले जानकारी दिए ।
उनले संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दवाव दिने कामलाई तीव्रता दिइएको बताए ।
प्रदर्शनका क्रममा युवा संघ, नेपालमा आवद्ध आधा दर्जन नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा संघ, नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दवाव दिने भन्दै मन्त्रीहरुलाई कालो झण्डा देखाउनेलगायतका सडक प्रदर्शनको कामलाई निरन्तरता दिँदै आएको छ ।
