ललितपुर । नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजना १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ ।
ललितपुरको ग्वार्काेस्थित यल स्पोट्र्स एकेडेमीको कभर्डहलमा साउन २५ गते शुरु भएको प्रतियोगिता साउन ३१ गते सम्पन्न भएको हो । ीक्ष्(ल्क्ष्ल्न् को मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उद्घाटन नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव भानुभक्त ढकालले गर्नुभएको थियो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ विभिन्न वरियता तथा उमेर समूहका पाँच सयभन्दा बढी खेलाडीहरूकोे उत्साहजनक सहभागिता रहेको थियो ।
शीर्ष आठ वरियता महिलातर्फ त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले नेपाल पुलिस क्लबकी शेस्ना श्रीपालीलाई पराजित गर्दै लगातार दोस्रोपटक उपाधि जित्नुभयो । उपाधिसँगै उहाँले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । उपविजेता शेस्नाले २८ हजार ५०० रुपैयाँ पाउनुभयो भने प्रतियोगितामा नेपाल पुलिस क्लबकी निता लम्साल र एपीएफकी रिहाना शेरचन संयुक्तरुपमा तेस्रो हुनुभएको थियो ।
शीर्ष आठ वरीयता पुरुष एकलतर्फ एपीएफ क्लबका प्रिन्स दाहाल सोही क्लबका क्षितिज खनाललाई पराजित गरेर च्याम्पियन बन्नुभयो । उपाधिसँगै उहाँले ४८ हजार ५०० रुपैयाँ तथा क्षितिजले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । पिस फिटनेस क्लबका विष्णु कटुवाल र त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन संयुक्तरुपमा तेस्रो हुनुभयो ।
त्यसैगरी, पुरुष एकलतर्फ शीर्ष आठ बाहेकको उपाधि नेपाल पुलिस क्लबका डेभिड थापा मगरले जित्नुभयो । प्रतियोगिताको फाइनलमा उहाँले सोही क्लबका कविर केसीलाई पराजित गर्नुभएको हो । इलामका दिवस शंकर र त्रिभुवन आर्मी क्लबका सुप्रिम पन्त संयुक्तरुपमा तेस्रो हुनुभयो ।
महिला एकलतर्फ शीर्ष आठ बाहेक कास्कीकी दिलाशा राना विजेता बन्नुभयो । उहाँले फिट नेपाल स्पोट्र्स प्लेक्सकी निभा राईलाई पराजित गर्नुभएको थियो ।
महिला युगलतर्फ त्रिभुवन आर्मी क्लबकी अमिता गिरी र रसिला महर्जनको जोडीले उपाधि जित्दा पुरुष युगलतर्फ एपीएफका देवराज राना र प्रिन्स दाहालको जोडी च्याम्पियन बन्यो । प्रतियोगितामा यू–११, यू–१५ तथा यू–१९ लगायतका विभिन्न उमेर समूहमा समेत खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको समापन समारोह नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष दीपेन्द्रप्रसाद दाहाल र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले विजेता खेलाडिहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताले नेपाली ब्याडमिन्टन खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, निर्णायक, आयोजक, प्रायोजक तथा सहयोगी संस्थाप्रति नेपाल खेलकुद महासंघले आभार व्यक्त गरेको छ । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता तथा पदक प्राप्त गर्ने सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी खेल यात्राका लागि शुभकामना व्यक्त गरिएको छ ।
१४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
सेयर गर्नुहोस्
