एमाले आज

कल्याणकारी व्यवस्था मुलुकमा समाजवादको आधारः रिमाल

सेयर गर्नुहोस्

काठमाडौं, नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले कल्याणकारी व्यवस्थाले मुलुकमा समाजवादको आधार तयार पार्ने भन्दै त्यसका लागि रोजगारी, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको ग्यारेण्टी गर्नु आवश्यक रहेको बताउनुभएको छ । उहाँले सम्पूर्ण नागरिकलाई रोजगारीको न्यूनतम ग्यारेण्टी गर्न आवश्यक रहेको भन्दै नेकपा एमाले नेतृत्वको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको पनि स्मरण गर्नुभयो । सवैले पढ्न पाउने व्यवस्था, स्वास्थ्य सुविधा तथा स्वास्थ्य सेवामा पहुँच तथा योगदानमा आधारित सामाजिक सुरक्षा लागु गर्ने काम त्यसैको आधार भएको धारणा राख्नुभयो । 

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले काठमाडौमा आयोजना गरेको राष्ट्रिय अधिवेशन सम्पन्न गरेका सदस्य यूनियनहरुको योजना बैठकमा विशिष्ट अतिथिका रुपमा बोल्दै जिफन्टका संरक्षक समेत रहेका रिमालले रोजगारदाता र श्रमिकबीचमा सह–अस्थित्व आवश्यक रहेको विचार प्रकट गर्नुभयो । विगतमा श्रमिक र रोजगारदाता एकले अर्कालाई निषेध गर्ने गरेको भन्दै तर लोकतन्त्र आइसकेपछि आन्दोलनको शैली पनि फेरिएको उहाँको भनाई थियो । लोकतन्त्रका लागि गरिने आन्दोलन र लोकतन्त्र भित्र गरिने आन्दोलनमा यहि फरक रहेको भन्दै रिमालले लोकतन्त्रमा द्वन्दको समाधान सम्वाद मार्फत हुने विचार प्रकट गर्नुभयो । 

जिफन्टको लक्ष्यका बारेमा बोल्दै उहाँले भन्नुभयो, “हामी श्रम गर्नेहरुको अधिकार स्थापित हुने समाज बनाउन चाहन्छौं । राज्य व्यवस्था कस्तो बनाउन चाहन्छौ भन्दा श्रम गर्नेहरुको हकहित गर्ने खालको बनाउन चाहन्छौं ।” यसैगरी जिफन्टले सदैव सुदृढ र एकतावद्द संगठन बनाउन चाहेको भन्दै जिफन्टका संरक्षक समेत रहेका रिमालले जिफन्ट र यसमा आवद्द संगठनहरु सामान्यतया सुदृढ र एकतावद्द नै रहेको र यसलाई थप सुदृढ तथा एकतावद्द बनाउन सुझाव दिनुभयो । 



श्रम बजारमा अहिले जिफन्टका दुईथरी प्रतिस्पर्धीहरु रहेको भन्दै रिमालले एकथरी स्थायी खालका प्रतिस्पर्धी र अर्काखाले रिमिक्स गरिएकाहरु वा टिकटकमा गित गाउने र नाँच्नेहरु जस्तै क्षणिक रहेको बताउनुभयो । रिमिक्सवाला प्रतिस्पर्धीहरुको कुनै जनाधार नरहेको भन्दै समयक्रमसँगै ति आफैं हराएर जाने उहाँको भनाई थियो । स्थायी प्रतिस्पर्धीहरुसँग अझ श्रेष्ठ भएर आफूलाई अव्वल सावित गर्दै सदस्य विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।  

जिफन्टको अभियान भनेको सदैव अव्वल हुने अभियान हो भन्दै रिमालले श्रम क्षेत्रका विषय, नीतिहरुलाई कसैले हेर्दा जिफन्ट र उसका सदस्य यूनियनहरुको आँखाबाट हेर्नुपर्ने बनाइनु आवश्यक रहेको धारणा राख्नुभयो । “समग्रमा नेपालको श्रम क्षेत्रलाई संसारले हेर्दा जिफन्टको आँखाबाट हेर्नुपर्यो” जिफन्टका निवर्तमान अध्यक्ष समेत रहेको रिमालको जोड थियो ।   

जिफन्टले अव गर्नुपर्ने कामहरुको बारमा व्याख्या गर्दै रिमालले पाँच वटा महत्वपूर्ण कामहरु गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले अधिकार, पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र सम्मान ति पाँच वटा विषय रहेको स्पष्ट पार्नुभयो । “पहिलो कुरा सवैलाई अधिकार, दोश्रो सवैलाई अवशरमा पहुँच, तेश्रो समानता जसका लागि हामी लड्नु पर्यो, चौथो सामाजिक न्याय तथा पाँचौ सुरक्षा र सम्मान हुनु पर्दछ” रिमालले भन्नुभयो । यसलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको पाँचवटा आधार भन्ने गरेको उहाँको भनाई थियो । 

नेकपा एमालेले देखेको सपना र राष्ट्रिय आकाँक्षा भनेको समृद्द नेपाल, सुखी नेपाली रहेको भन्दै नेकपा एमालेका उपमहासचिव रिमालले समृद्दि भनेको सुखको आधार रहेको र यो सामाजिक न्याय सहितको समुन्नती रहेको भन्दै सुशासन समृद्दिको लागि पूर्वशर्त रहेको बताउनुभयो । यसैगरी सुख भनेको न्यायोचित, जैविक र मानविय आवश्यकताहरुको सहज उपलव्धता रहेको उहाँको भनाई थियो । 



जिफन्टका सवै सदस्य यूनियनहरुलाई हरेक स्थानमा पुग्दा आफ्ना सदस्यहरु भेटिनेगरी सदस्य बढाउन आग्रह गर्दै उहाँले त्यो अवस्थामा मात्र संगठन बलियो हुने विचार राख्नुभयो । दह्रो संगठनका लागि व्यापक सदस्य हुन आवश्यक रहेको भन्दै उहाँले ति सदस्यहरुमा राजनीतिक चेत हुनु पर्ने र त्यसका लागि राजनीतिक दलमा आवद्द हुन आवश्यक रहेको बताउनुभयो । उहाँले जिफन्टका सदस्यहरु नेकपा एमालेका सदस्य हुन आवश्यक रहेको भन्दै यसले राजनीतिक दलभित्रै पनि श्रमिकको प्रतिनिधित्वको अधिकारलाई बलियो बनाउने धारणा राख्नुभयो ।

उहाँले जिफन्ट तथा सदस्य यूनियनहरुको नेतृत्वलाई आफ्ना सदस्यहरुलाई लगानी, प्रतिफल र सुरक्षा यी तीनवटा विषयमा आश्वस्त पार्न सक्नुपर्ने सुझाव दिनुभयो । आफूले संगठनमा लगानी गरेको समय तथा परिश्रमको लगानी डुव्दैन, उच्च प्रतिफल प्राप्त हुन्छ र भविष्यमा काम गर्न नसक्दा पेन्सन प्राप्त हुन्छ भन्ने विषयमा सदस्यहरु आश्वस्त हुनुपर्ने उहाँको सुझाव थियो । 

यस अगाडी कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख अतिथिका रुपमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय अधिवेशन सम्पन्न गरेका जिफन्ट आवद्द विभिन्न यूनियनका केन्द्रीय कमिटी, जिफन्ट राष्ट्रिय कमिटी तथा प्रदेश कमिटीका पदाधिकारीहरु तथा प्रतिनिधिहरु सहभागि छन् । दुई दिनसम्म चल्ने बैठकमा समूह छलफल गरी यूनियनहरुले आफ्नो योजना निर्माण गर्नेछन् ।

हामीसँग जोडिनुहोस्