काठमाडौं, नेकपा एमालेका महासचिव शंकर पोखरेलले जति धेरै उत्पादक शक्ति (श्रमजीवि वर्ग) लाई सक्षम बनाउन सकिन्छ, त्यति नै छिटो समाज र मुलुक परिवर्तन हुने बताउनु भएको छ । उहाँले नेकपा एमालेको उद्देश्य श्रमिक वर्गलाई अझ बलियो बनाउँदै लैजाने रहेको पनि बताउनुभयो ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले काठमाडौमा आयोजना गरेको राष्ट्रिय अधिवेशन सम्पन्न गरेका यूनियनहरुको योजना बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै महासचिव पोखरेलले सामाजिक सुरक्षालाई बलियो बनाएर लैजान आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले नेकपा एमालेले अगाडी बढाएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाली काँग्रेसले आलटाल गरिरहेको भन्दै सो कार्यक्रम लागु हुन नसक्दा सम्पूर्ण श्रमिकलाई हानी पुगिरहेको विचार प्रकट गर्नुभयो । 
पछिल्लो समयमा श्रम बजारमा ठूलो परिवर्तन आइरहेको भन्दै एमाले महासचिव पोखरेलले श्रम बजारमा आउने हरेक श्रमिकलाई कुनै न कुनै प्राविधिक ज्ञान दिन आवश्यक रहेको बताउनुभयो । यसले उत्पादकत्वमा वृद्दि हुने भन्दै अहिले पनि प्राविधिक शिक्षा भन्दा साधारण शिक्षामा नै नेपालमा जोड दिईंदै आएको र यसमा फेरवदल आवश्यक रहेको उहाँको भनाई थियो ।
दक्ष श्रमिकसँग धेरै विकल्पहरु हुने र विकल्प भएका श्रमिकहरुले कुनै अन्यायमा पर्दा सम्झौता नगरी संघर्ष गर्न सक्ने भन्दै उहाँले श्रमिकको विकल्प सहितको सामथ्र्य विकास गर्न मद्दत गर्नुपर्ने खाँचो औंल्याउनुभयो । महासचिव पोखरेलले श्रमिकलाई सदैव रोजगारीमा मात्र आश्रित नरही आवश्यक पर्दा स्वरोजगार हुन र पुँजी तथा अनुभव आर्जन गरी अरुका लागि रोजगारी उपलव्ध गराउने रोजगारदाता बन्न सक्ने बनाइनु पर्ने दृष्टिकोण राख्नुभयो ।
अवको समय श्रमजीविहरुको समय हो भन्दै महासचिव पोखरेलले उत्पादन शक्ति र उत्पादन सम्वन्धलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयलाई बलियो बनाउन उत्तिकै आवश्यक रहेको विचार प्रकट गर्नुभयो । रोजगारीका अवशरहरुलाई सुनिश्चित गर्न सकेमा मात्र राजनीतिक प्रणाली बलियो हुने भएकाले त्यसतर्फ राज्य सञ्चालन गर्नेहरुको सदैव ध्यान पुग्न आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा राजनीतिक विषयको सन्दर्भमा बोल्दै महासचिव पोखरेलले नेकपा एमालेले हिंडेको बाटो कठिन र चुनौतिपूर्ण भएपनि असम्भव नरहेको बताउनुभयो । उहाँले नेकपा एमालेलाई एक्लो देखाउन खोजिएपनि मुलुकका दुई धारको राजनीति मध्ये एक धारको नेतृत्व नेकपा एमालेले गर्ने र अर्को धारको नेतृत्व शेरबहादुर देउवा तथा सो समुहमा रहेकोहरुले गर्ने भन्दै यसको अन्तोगत्वा लाभ नेकपा एमालेलाई नै प्राप्त हुने तर्क गर्नुभयो । नेकपा एमालेको विरुद्दमा मोर्चावन्दी गर्नेहरुलाई नेकपा एमालेले पराजित गरेरै छोड्ने पोखरेलको भनाई थियो ।
नेपालको राजनीतिक परिवर्तन अन्य स्थानको भन्दा विल्कुलै फरक रहेको उहाँले बताउनुभयो । नेपालको राजनीतिक परिवर्तन युरोप, सोभियत संघ वा चीनको जस्तो क्रान्ति नभई नेपाली मौलिक प्रकृतिको रहेको भनाई महासचिव पोखरेलको थियो । नेपालको परिवर्तनले एउटा शासक वर्गलाई विस्थापित गरेर अर्को शासक वर्ग स्थापित गरेको नभई पुरानो शासक वर्ग फेरेर नयाँ शासनको विधि मात्र स्थापित गरेको उहाँले बताउनुभयो । त्यसैले नेकपा एमालेले नेतृत्व गर्दा मुलुक समाजवाद तर्फको बाटोमा अगाडी बढ्ने तथा नेपाली काँग्रेसले नेतृत्व गर्दा मुलुक पुँजीवादी बाटोमा अगाडी बढ्ने अवस्था रहेको उहाँको भनाई थियो ।
नेपालमा वामपन्थभित्रै विभाजन ल्याएर पुँजिवादीलाई बलियो बनाउने प्रयास गरिएको र पुष्पकमल दाहाल तथा माधव कुमार नेपालहरुले जनताले दिएको म्याण्डेटलाई कुल्चिएर त्यो अभिष्ट पुरा गर्न साथ दिएको एमाले महासचिव पोखरेलको भनाई छ । यो चरम दक्षिणपन्थि अवशरवाद रहेको भन्दै आफ्नो संगठनमा पनि अराजकतावाद र अवशरवादलाई हुर्किन नदिन जिफन्ट नेतृत्वलाई उहाँले सजग गराउनुभयो । संगठनात्मक अराजकता चुनौतिपूर्ण हुने भन्दै महासचिव पोखरेलले पार्टीको नेतृत्वको स्वार्थसँग पनि ट्रेड युनियनका नेता, कार्यकर्ताहरु जोडिन जरुरी नरहेको धारणा राख्नुभयो । उहाँले पुष्पकमल दाहाल र माधव नेपालहरुले गरेको काम क्षम्य नरहेकोले त्यसप्रति उदार हुन नहुने भन्दै के शेरबहादुर देउवा नेतृत्वको सरकारले समाजवाद तर्फ मुलुकलाई अगाडी बढाउँछ भनेर प्रश्न पनि गर्नुभयो । .jpg)
लुम्विनि प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले केपी ओली नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामहरुको स्मरण पनि गर्नुभयो । केपी ओली नेतृत्वको सरकार रहेको समयमा नै नेपालले भारतसँगको सम्वन्धलाई नयाँ तरिकाबाट अगाडी बढाउनु पर्ने, सन्धि सम्झौताहरुको पुनरावलोकन गर्नुपर्ने सम्वन्धमा अध्ययनलाई पनि अगाडी बढाएको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले विशिष्ट अतिथिका रुपमा मन्तव्य राख्नुभयो । कार्यक्रममा राष्ट्रिय अधिवेशन सम्पन्न गरेका जिफन्ट आवद्द विभिन्न यूनियनका केन्द्रीय कमिटी, जिफन्ट राष्ट्रिय कमिटी तथा प्रदेश कमिटीका पदाधिकारीहरु तथा प्रतिनिधिहरु सहभागि छन् । दुई दिनसम्म चल्ने बैठकमा समूह छलफल गरी यूनियनहरुले आफ्नो योजना निर्माण गर्नेछन् ।
जति धेरै श्रमजीवि वर्गलाई सक्षम बनाउन सकिन्छ त्यति नै छिटो समाज परिवर्तनः महासचिव पोखरेल
सेयर गर्नुहोस्
